आर्थिक वर्ष २०८०/०८१ मा डोटी विमानस्थलले ४ सय ७४ रुपैयाँ मात्रै आम्दानी गरेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ ।
नेपालमा हाल ५५ वटा विमानस्थल छन् । त्यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा रहेको र बाँकी २० वटा विमानस्थल बन्द अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यसरी सञ्चालन हुन नसकेका विमानस्थलहरूमा बझाङ, रुकुमको चौरजहारी, दार्चुला, ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, कालिकोट, अछामको कमल बजार, कंगेलडाँडा, ओखलढुंगाको खिजी चण्डेश्वरी, रसुवाको लाङटाङ, खोटाङको लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पाको मसिनेचौर, चितवनको मेघौली, रोल्पा, ओखलढुंगाको रुम्जाटार, सोलुखुम्बुको स्याङ्बोचे रहेका छन् । प्राधिकरणको रिपोर्टमा टीकापुरलाई बन्द विमानस्थलको सूचीमा राखेको भए पनि अहिले यो सञ्चालनमा आइसकेको छ ।
त्यसबाहेक अन्य ३५ विमानस्थल भने सञ्चालनमा छन् ।
यसरी सञ्चालित विमानस्थलमध्ये त्रिभुवन, पोखरा र गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल हुन् । आन्तरिक विमानस्थलमध्ये विराटनगर, नेपालगन्ज र धनगढीलाई हब विमानस्थलको रूपमा वर्गीकरण गरिएको छ ।
यो विमानस्थलबाट विभिन्न विमानस्थलमा उडान हुने गरेको छ । बाँकी २९ विमानस्थल आन्तरिक विमानस्थल पनि अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेको विमानस्थलहरूमा बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, डोल्पाको जुफल, डोटी, इलामको फाल्गुनन्द सुकिलुम्बा, गुल्मीको रेसुङ्गा छन् ।
त्यस्तै, जनकपुर, जोमसोम, जुम्ला, खानीनन्द, पोखरा, फाप्लु, राजविराज, रामेछाप, मुगुको ताल्चा, रुकुमको सल्ले, अछामको साँफेबगर, बाराको सिमरा, हुम्लाको सिमकोट, सुर्खेत, ताप्लेजुङ, सोलुखुम्बुको लुक्ला, खोटाङको थामखर्क र संखुवासभाको तुम्लिङटार विमानस्थल समेत सञ्चालनमा रहेका छन् ।



